बझाङ । बझाङको साईपाल खेलकुद समितिको आयोजनामा धुली माध्यमिक विद्यालय धुलीमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । साईपाल खेलकुद समितिका अध्यक्ष रनध्वज धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष मानविर बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङ र धुली माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रनिङशिल्ड सञ्चालन निर्देशक समिति धनबहादुर बिष्ट (भोटे) बिशिष्ट अतिथि रहेका थिए ।

प्रतियोगितामा ३ वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको छ । पुस २५ गतेबाट सञ्चालन भएको प्रतियोगिता पुस २७ गते समापन गरिने भएको छ । कार्यक्रममा साईपाल गाउँपालिका अध्यक्ष बोहोराले रनिङ शिल्ड प्रतियोगिता स्वच्छ, निस्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न अनुरोध गर्दै खेलमैदान व्यवस्थित गर्न पालिकाले पहल गर्ने बताउनु भएको छ । तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् ।
प्रतियोगिताबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि साइपाल गाउँपालिकाको टीम तयार गरिनेछ । अहिलेसम्म छब्बीसपाथिभेरा गाउँपालिका ,दुर्गाथली गाउँपालिका, वित्थडचिर गाउँपालिका र खप्तडछान्ना गाउँपालिका गरी चार स्थानीय तहमा स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ । अन्य स्थानिय तहहरुमा जारी छ ।
