बझाङ। साईपाल गाउँपालिकामा स्थानीय तह स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
पौष २५ गतेदेखि साईपाल गाउँपालिकामा सुरु भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष २९ गते सम्पन्न भएको हो । साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी बोहराले विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोहोराले पदक तथा मेडल प्रदान गरेका थिए भने विशिष्ट अतिथि र अतिथिहरू लगायतले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष बोहोराले साईपालमा खेल निरन्तर अगाडि बढाउने बताए । बोहोराले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा साईपालमा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनेमा आफू प्रतिबद्ध रहने बताउनुभयो । प्रतियोगितामा काँडा मावि काडा १७ स्वर्णसहित प्रथम हुन सफल भयो भने धुली मावि ११ स्वर्णसहित दोस्रो र २ रजत सहित धलौन मावि धलौन तेस्रो भयो ।




पालिकाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिकाका ३ विद्यालयका ३ सय २० विद्यार्थी सहभागी थिए । साईपाल गाउँपालिका खेलकुद समितिको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, हाइजम्प, लंगजम्प, ज्याब्लीङ थ्रो, दौड योगा लगायतका खेलहरु समावेश गरिएको थियो । साइपाल गाउँपालिका खेलकुद समितिका अध्यक्ष रनध्वज धामीको अध्यक्षतामा समापन भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक उपस्थित थिए ।
